Breaking

धुर्कोटमा एमाले र माओवादीबीच तालमेल


काठमाडौँ — गुल्मीको धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीविरूद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । यसअघि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्षमा उठ्ने निर्णय गरिए पनि वर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा माओवादीका भुपाल पोखरेलले उम्मेदवारी दिएका थिए । गठबन्धनभित्रैबाट सहमति नजुटेपछि गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल भएको छ ।

एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएर माओवादीका पोखरेललाई सहमति गर्ने निर्णय भएको एमाले धुर्कोटका सचिव सूर्य घिमिरेले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादीका पोखरेललाई समर्थन गरेपछि उपाध्यक्षमा भने माओवादीले एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्ने सहमति गरेको छ ।