Breaking

भरतपुरमा गठबन्धन भत्कियो, बागी हालेका पौडेल ब्याक नभएपछि रेणुभन्दा विजय बलिया ?


काठमाडौँ – स्थानीय तहको निर्वाचनमा बागी हालेका उम्मेद्वारले मनोनयन फिर्ता लिएका छैनन् । देशभरका अधिकांश स्थानमा बागी परेपनि उनीहरु पछि नहट्दा चितवन लगायतका स्थानमा गठबन्धन संकटमा परेको छ । गत बुधबारदेखि नै गृहमन्त्री बालकृष्ण खाण चितवनमा थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेद्वार रेनु दाहालविरुद्ध बागी हालेका नेता जगन्नाथ पौडललाई पछि हटाउन गृहमन्त्रीलाई चितवन पठाएका हुन् । विहिबार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि देउवाले चितवन पठाए ।

राज्यसत्ताकै प्रयोग गरेर सरकारका दुईमन्त्री बागी झिकाउन तीनदिनदेखि युद्धस्तरमा खटिएपनि बागी हालेका पौडेल ब्याक भएनन् । निर्वाचन आयोगले उम्मेद्वारी फिर्ताका लागि दिएको समयसीमा शुक्रबार बेलुका पाँच सकियो, तर जगन्नाथ पौडेलको उम्मेद्वार फिर्ता भएन् ।

अब उनी गठबन्धनका तर्फबाट महानगरको उम्मेद्वार बनेकी माओवादी नेतृ रेनु दाहाल र नेकपा एमालेका उम्मेद्वार विजय सुवेदीसँग चुनाव भिड्ने पक्का भएको छ । तथापी मेयरमा स्वतन्त्रतर्फका दुर्गाप्रसाद शर्मा र उपमेयरमा स्वतन्त्र उमेदवारी दिएका भोजराज कौडाल र रविचन्द्र अधिकारीले उम्मेद्वारी फिर्ता लिएका छन् ।

जनकपुरधाम उपमहानगरमा बागी हालेका काँग्रेस नेता मनोज साहले समेत उम्मेद्वारी फिर्ता लिएनन् । उस्तै संकट परेको पोखरा महानगरमा काँग्रेसका तीन नेताले बागी हालेका थिए । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले मेयरको भाग पाएपछि असन्तुष्ट काँग्रेसले अवरोध गर्दै बागी हालेका हुन् ।

तर यहाँ दुई जनाले अन्तिममा उम्मेद्वारी फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन । मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताएका छन् ।

देशभरका अधिकांश स्थानमा बागी परेको छ । केन्द्रबाट शिर्ष नेतृत्वले निर्देशन नै चलाएपछि बागीहरु अडानबाट पछि हटेका छैनन् । बरु उनीहरु पार्टीले गरेको कारबाही भोग्न तयार भएका छन् । सत्ता गठबन्धनले जे चाहेको थिएन त्यही भयो ।

बागी उम्मेद्वार गठबन्धनको चाहना थिएन, तर आफ्नै उम्मेद्वारीविरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि पाँच दलीय मोर्चा दबाबमा परेको थियो । उम्मेद्वारी फिर्ताको समयसम्म बागी पछि हट्ने र हटाउने शिर्ष नेताहरुको आश थियो । तर आफ्नै उम्मेद्वारविरुद्ध असन्तुष्टहरुले बागी हालेपछि गठबन्धन दबाबमा परेको छ । विपक्षी दल एमाले उत्साहित बनेको छ ।