Breaking

भरतपुरमा कांग्रेस उमेदवार पौडेलले उमेदवारी फिर्ता लिएनन्, प्रचण्डलाई ठूलो धक्का


काठमाडौँ – उम्मेदवारी फिर्ताका लागि निर्वाचन अयोगले दिएको आज ५ बजेसम्मको समयसीमा सकिएको छ । समय सकएपनि नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरबाट मेयरमा दिएको आफ्नो उमेदवारी फिर्ता लिएनन् ।

प्रधानमन्त्रीसेमत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत जिल्ला तहका नेताले गरेको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उमेदवारी कायमै राखे ।

आफू चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार अघि बढेको हुँदा आफूले उम्मेदावारी फिर्ता नलिएको पौडेलले बताएका छन् । अब कार्यकर्ताको साथ सहयोग र भरोसामा अघि बढ्ने पनि बताए । पौडेलले आफ्नो अडान कायमै राख्दै अब घरदैलो अभियान सुरु हुने बताए ।

पौडेलका स्वकीय सचिव नविन बरालका अनुसार अहिले पौडेल निवासमा कांग्रेसका कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले चितवनलाई न्याय गर्ने भए माओवादी केन्द्रकै उमेदवारी फिर्ता हुने भन्दै न्याय गर्न नचाहने नेतृत्वको आदेश पालना पनि नहुने अडान राखिरहेका छन् ।

पौडेलले उम्मेदवारी फिर्ता नलिए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का परेको छ । भरतपुर महानगरको मेयरमा गठबन्धनको तर्फबाट प्रचण्ड पुत्री रेणु दाहालले पनि उम्मेदवारी दिएको छ । पौडेलको उम्मेदवारसँगै दाहालको भोट काटिने सम्भावना बढेको छ ।

कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका पौडेललाई पार्टीबाट स्वत निस्कासित गरेको छ । पार्टीले पौडेलसहित उनका प्रस्तावक र समर्थकलाई पनि निस्कासन गरेको छ ।