Breaking

काँग्रेस–एमालेबीच मतको लडाइँ, स्थानीय निर्वाचनमा को बलियो ? प्रचण्ड–माधव सहायक मात्र


काठमाडौँ – राजनीतिक दलका लागि निर्वाचन परीक्षा हो । आफु उतिर्ण हुन जस्तो सुकै कर्म गर्न दलहरु तयार देखिन्छन् । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । फलतः यी दुबै दल एकले अर्काेलाई कमजोर बनाएर मतभार बढाउन खोजिरहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहायक शक्तिका रुपमा खुम्चिएका बेला आगामी स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काँग्रेसबीच हुँदैछ ।काठमाडौं महानगरसहित देशका ९० प्रतिशत स्थानीय तहमा एमाले–काँग्रेसबीच को पहिलो हुने मतको लडाइँ हुनेछ ।

फलतः ‘अरुलाई होचो बनाएर आफु अग्लीने’रहर यी दुवै दलका दस्तावेजदेखि दैनिक भइरहेका चुनावी सभाहरुमा स्पष्ट देखिन थालेका छन् । र यो लडाइँका मुख्य योद्धा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस महामन्त्री गगनकुमार थापा अग्रभागमा छन् । उनीहरुबीच एकले प्रहार गर्ने, अर्काेले जवाफ फर्काउने जुहारी नै चलेको छ ।

एमालेका अध्यक्ष ओलीको जस्तो अब्बल वाककटुता काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको छैन । उनी कुटनीतिक परिपक्कता देखाएर खेल जित्दै आएका छन् । तर सभापतिको नभएर के भयो, महामन्त्री थापा ओलीभन्दा पेचिलो बनेर निस्किएका छन् ।

आजभोलि ओलीका एकएक शब्दावलीभित्र केस्राकेस्रा केलाएर व्यक्तिगत र काँग्रेसको तर्फबाट उनी जवाफ फर्काउने गर्छन । उनकै नेतृत्वमा तयार भएको घोषणापत्रमाथि ओलीले अराजक टिप्पणी गरेपछि भने गगन झनै सतहमा आएका हुन् । किनकि खेलको नियम जस्तो सुकै होस्, यी दुबैलाई हार्ने छुट छैन ।

गगन तयार पारेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाको व्यापारी भनेपछि ओलीले पागलहरुको प्रलाप भनेका थिए । ओलीले घोषणापत्र चोरीको आरोप लगाएपछि जवाफमा गगनले बालकोट गएर ट्युसन पढाउने भनेका छन् । पुनः जवाफमा ओलीले ट्युसन पढाउन आउने भए ठाउँ खोज्दीने भनेर उछितो काढेका छन् ।

यो शिलशिला कहिलेसम्म चल्छ थाहा छैन, तर यही बलमा काँग्रेस–एमाले निर्वाचनलाई आफ्नो पल्लामा पार्ने नीति अख्तियार गरिरहेका छन् । नेपालमा राजनीतिक दलहरु स्वार्थ मिलेका बेला सहकार्य गर्छन । जब सत्ता स्वार्थ बाझिन्छ, एकले अर्काेलाई अराजनीतिक तवरले गालीगलौज गर्न थाल्छन् ।

हिजोसम्म यो रोग ओली–प्रचण्ड र माधवबीच सीमित थियो । अहिले काँग्रेसका आशालाग्दा हस्तीसमेत यो रोग सरेको छ ।