राजनीति

उम्मेदवार बनेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सर्वोच्चको निर्णय निर्वाचन आयोगमा अझै पुगेन


काठमाडौँ – स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिने प्रतिनिधिले राजीनामा दिनेबारे सर्वोच्च अदालतले गरेको फैसला अझै कार्यालयमा आइनपुगेको निर्वाचन आयोगले जनाएको छ । बिहीवार निर्वाचन आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताउनु भएको हो ।

गत मंगलवार सर्वोच्च अदालतले निर्वाचनमा उम्मेमद्वारी दिने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान यथावत रहने फैसला गरेको थियो । प्रवक्ता पौडेलका अनुसार उम्मेद्वारी दिने जनप्रतिनिधिले राजीनामा दिने सम्बन्धमा आफ्नो ऐन, कानूनमा उल्लेख भएको अनुसार गर्न सकिने तर त्यसमा पनि स्पष्ट हुन नसके संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जानकारी लिनसक्ने बताउनु भयो ।

प्रवक्ता पौडेलले निर्वाचन आयोगले ७७ जिल्लामा नै मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको बताउनु भयो । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको बताउनु भयो ।