Breaking

नेकपा एसमा ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित


काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनुभएको हो ।

उहाँले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गर्नुभयो ।

उहाँले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताउनुभयो ।