Breaking

मोरङको केराबारीमा वडा सदस्यका उम्मेदवारको मृत्यु


काठमाडौँ — मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका एक उम्मेदवारको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको हो ।

अघिल्लो दिन भोट माग्ने अभियानमा सक्रिय भएर स्वस्थ अवस्थामा सुतेका उनी शुक्रबार अचानक बेहोस भएर ढलेको गाउँपालिका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले नेपालखबरलाई बताए ।

उपचारका लागि केराबारी बजारतर्फ ल्याउँदै गर्दा लिम्बुको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले बतायो । मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए ।

चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले उक्त स्थानीय तहमा अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार केराबारी वडा नम्बर २ मा नयाँ मनोनयन दर्ताका लागि समय थप हुने आयोग स्रोतले बतायो ।

यसैबीच केराबारी वडा नम्बर १ मा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएकी पवित्रा लिम्बुको उम्मेदवारी रद्द भएको छ । उनले महिला स्वयंसेविकाका रुपमा तलब खाइरहेको भन्दै उजुरी परेपछि उम्मेदवारी रद्द भएको हो ।