Breaking

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ


काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ सुरु भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो । बिहीबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै’मा राखिएको हो ।

गत चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए ।

गभर्नर अधिकारीले स्पष्टीकरणको अवसर नै नदिई आफूमाथि छानबिन समिति गठन गरेको भन्दै निर्णय खारेजी आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।