Breaking

गठबन्धन तहसनहस,भरतपुर मिलाउन गृहमन्त्रीको बास,प्रचण्ड–देउवाको ताकेतापछि पनि बागी फिर्ता नहुने


काठमाडौँ — चुनावी तालमेललाई प्रमुख बनाएर भागबण्डा बाँडफाँड गरेको सत्ता गठबन्धन महानगरमै असफल भएपछि संकटमा परेको छ । गठबन्धनबाटै परेका बागीलाई मिलाउन चुनौती छ । तर केन्द्रबाट निर्णय लाद्न छोडिएको छैन । केन्द्रमा बसेका नेताहरु दिनहुँजसो बालुवाटारमा भेला हुन्छन् र तल्लो तहलाई निर्णय कार्यान्वयनको निर्देशन चलाउँछन् । तर स्थानीय तहमा गठबन्धन तहसनहसकै अवस्थामा छ । महानगरमै सफल नभएको गठबन्धन अधिकांश स्थानीय पालिकामा कार्यान्वयन भएको छैन । केन्द्रले निर्णय लादेपछि कतिपय स्थानमा बागी परेको छ, जसलाई फिर्ता गर्न फकाउने कि तर्साउने गठबन्धनका लागि निकै चुनौतीपूर्ण छ । तर शिर्ष नेतृत्व निर्णय गर्नबाट पछि हटेको छैन ।

बरु बुधबार पनि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल कार्यान्वयन गर्न स्थानीय नेतृत्वलाई दबाब दिएको छ । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । केन्द्रको सहमतिअनुसार नै माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र कांग्रेसबाट उपप्रमुखमा चित्रसेन अधिकारीले उम्मेदवारी दिए । तर, कांग्रेसकै नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसकै मत विभाजित भएर रेनुले चुनाव हार्ने सम्भावना छ । जसको बन्दोबस्ती मिलाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै चिवतन पुगेर बेलुका काठमाडौं फर्किए । अवस्थामा परिवर्तन नआएपछि होकी बागीमाथि दबाब दिन हो ? प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारदेखि गृहमन्त्री बालकृष्ण खाणलाई चितवन बसाएका छन् ।

विहिबारदेखि राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवनमै छन् ।त्यतिमात्रै नभएर विहिबार नै प्रधानमन्त्री देउवाले बागी जतिले उम्मेद्वारी फिर्ता लिन सार्वजनिक अपिल गरेका छन् । तर बागीहरु अडान परिवर्तनको मुडमा छैनन् ।केन्द्रको सहमति अनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । तर काँग्रेसकै तीन नेताले बागी उम्मेद्वारी दिएपछि गठबन्धनमा फर्साद परेको छ । गठबन्धनको नेतृत्व गर्ने काँग्रेस र काँग्रेसकै नेताहरुबाट अधिकांश बागी आएपछि अन्य दल आत्तिएका छन् । विपक्षी एमाले गठबन्धन सफल नभएको फाइदा उठाउने तयारीमा छ । गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गबठन्धनभित्रका दलहरुले अर्काे गठबन्धन तयार पारेका छन् ।

काँग्रेसबाट अलग्गीएर माओवादी र समाजवादीको गठबन्धन बन्दा कतिपय स्थानमा एमाले र काँग्रेसबीच तालमेल बनेको छ । हुम्लाको चंखेली गाउँपालिकामा त एमाले र एकीकृत समाजवादीले तालमेल गरेका छन् । तर गठबन्धनका शीर्ष नेताहरुले बुधबार पनि कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेका छन् । वैशाख ३० को निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो ।शुक्रबारसम्म उम्मेद्वारी फिर्ता नलिए निर्वाचन आयोगले यही दिन अन्तिम नामावली प्रकाशन गर्नेछ । तर नेताका एकथरि निर्णय र कार्यकर्ताका अर्काेथरी चाहनाले गठबन्धननै तहसनहस बनेको हो ।