Breaking

बन्द प्रशिक्षण छोडेका खेलाडीको भविष्य अब के ?,यसो भन्छन् एन्फाका महासचिव


काठमाडौँ —नेपाली खेलकुदमा विवादको कुरा आउनु सामान्य जस्तै बनिसकेको छ । तर, पछिल्लो तीन दिनदेखि राष्ट्रिय फुटबल टोलीमा चुलिएको विवाद भने यसअघि देखिने विवाद भन्दा अल्लि फरक छ ।

साधारणतया विदेशी फुटबलको कुरा गर्ने हो भने प्रतिष्ठा, व्यवसाय, मनोरञ्जन जस्ता कुरा जोडिन्छ । तर, अपवाद नेपालमा फुटबल भन्ना साथ सर्वप्रथम विवाद अगाडी आउँछ । चाहे त्यो अखिल नेपाल फुटबल संघ (एन्फा) होस् चाहे प्रशिक्षक वा खेलाडी नै किन नहोस् ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले प्रशिक्षक पनि आफूसँग मिल्ने खालको नै पाएको छ । एन्फा, प्रशिक्षक र विवाद यी तीन पछिल्लो समय पर्याय नै बनेको छ । अझ कम भएर होला सायद, यसमा अहिले खेलाडी पनि थपिन पुगेको छ ।

सबै सामान्य नै हुन्थ्यो भने अहिले फुटबल टिमका खेलाडीहरु एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा हुने थिए । तर, मंगलबारदेखि सिनियर खेलाडी र प्रशिक्षकमा चुलिएको विवादका कारण खेलाडी र प्रशिक्षक दुई धु्रवमा बाडिएका छन् ।

होस्टेल वा होटलमा बस्ने विषयमा खेलाडी र प्रशिक्षकबीच विवाद हुँदा ९ खेलाडी प्रशिक्षणबाट बाहिरिएको समाचार कसैसँग लुकेको छैन । सबै खेलाडीको नेतृत्व गरेर राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले होस्टेलमा बस्न सुविधा नहुने भन्दै होटेलमा बस्न माग गरेपछि प्रशिक्षक अब्दुल्ला अल्मुताईरीले क्याम्प छोडेर जान भनेका थिए ।

रोहित क्याम्पबाट बाहिरिएपछि बाँकीका अन्य खेलाडीहरु रोहितले हाम्रो नेतृत्व गरेर बोलेको हो भन्दा रोहित चाहिने हो भने क्याम्प छोडेर जान सक्ने जवाफ फर्काएका थिए ।

खेलाडीले पाउनु पर्ने पोषण युक्त खाना र अन्य सुविधको विषयमा उठेको मागहरु शतप्रतिशत जायज छ । तर खेलाडीले पनि अनुशासनको ख्याल भने गर्नुनै पर्छ ।

घटना घटेको तीन दिनपछि बितिसक्दा पनि खेलाडीहरु आफ्नो सम्पर्कमा आउन नचाएको एन्फा पदाधिकारी बताइरहदा बिहीबार साझ मात्र खेलाडीहरुले पत्रकार सम्मेलन गरे । उनीहरुले घटनाको जानकारी गराएर नै होटेलबाट निस्किएको भए पनि एन्फाबाट नै भागेको बन्ने भ्रामक समाचार सम्प्रेषण गरेकोमा आफूहरु अचम्मित भएको बताए ।

यता खेलाडीहरुले क्याम्प छोडेर गएपछि अल्मुताईरले एन्फाकै स्वीकृतिमा त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेको छ ।

यस्तो अवस्थामा एन्फाले भने खेलाडीले आफ्नो गल्ती स्वीकार गरेर आउँछ भने त्यसलाई विचार गर्न सकिने धारणा प्रस्तुत गरेको छ । राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अब्दुल्ला अल्मुताईरी नियुक्ति भएपछि खेल भन्दा बढी अल्मुताईरीको विवाद नै चर्चा हुने गर्छ ।

प्रशिक्षक अल्मुताइरीले खेलाडीमाथि गर्ने व्यवहार त यसअघिका पत्रकार सम्मेलनहरुमा पनि देखिएको नै हो । तर पनि प्रशिक्षकले क्याम्प छोड्न लगाउनु भन्दा कमीकमाजोरी प्रस्ट्याएर निर्णय लिएको भए राम्रो हुने थियो ।

अन्य खेलको तुलनामा सबैभन्दा बढी माया पाएको नेपाली फुटबलमा सधै देखिने विवादलाई राम्रो भने पक्कै मान्न सकिँदैन । यसमा एन्फा, खेलाडी र प्रशिक्षक सबैले ध्यान पुर्याउन जरुरी छ ।