देश

वृद्धभत्ता मैले ल्याएको हुँ, ओलीको कुनै भूमिका छैन: नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने बताएका हुन् ।

‘२०५१ सालमा बुढापाकालाई भत्ता दिने सुरुवात हामीले नै गरेका हौं । हामीलेनै अपागंता भएकाहरुलाई विशेष सहुलीयत, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने, जग्गा वितरण गर्नेजस्ता कामहरु हामीले नै सुरु गर्‍यौं । ओली गुटले हामीले यी कार्यक्रमहरु ल्यायौं भन्दैछ रे । उनको त कुनै भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो । माधव नेपालको थियो, भरतमोहन अधिकारीको थियो । उनले भने ।