काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार गतिलो नभएको बताएका छन् । व्यावसायिक खेलको लागि माल्दिभ्समा रहेका किरणले फेसबुक स्टाटसमार्फत मुख्य प्रशिक्षक अलमुताइरीको गलत व्यवहार र शैलीका कारण खेलाडी दिक्क भएको आशय पनि प्रकट गरेका छन् । नेपाली टोलीका खेलाडी रोहित चन्दले जायज विषय उठाउँदा उनलाई बन्द प्रशिक्षणबाटै निकाल्नु गलत भएको किरणको भनाइ छ ।
उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीको पक्षमा समर्थन पनि जनाएका छन् । टोलीका कप्तान र एक सदस्यको हिसाबले आफू सधैँ खेलाडीको पक्षमा रहेको किरणले लेखेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेका छन् । यस विषयमा अध्ययन भइरहेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
प्रतिक्रिया