देश

चुनाव जितेपछि साथीहरूलाई अबिर-माला लगाएरमात्रै काठमाडौं फर्किन्छु: महरा


काठमाडौँ — कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनको परिणाम नआउँदासम्म दाङमै बस्ने बताएका छन् । बुधबार घोराहीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख महराले स्थानीय तहको निर्वाचनमा गठबन्धन उम्मेदवारको पक्षमा माहोल निर्माण गर्न आफू जिल्ला आएको बताए । अब म थपक्क दाङमै बस्छु,’ उनले भने, ‘गठबन्धनका साथीहरूले जितेपछि उहाँहरूलाई अबिर—माला लगाएर मात्रै काठमाडौं फर्किने छु ।

दाङका दुई उपमहानगरपालिका मध्ये महराको निर्वाचन क्षेत्र २ अन्तर्गतको घोराहीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्ड मेयरमा र नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरका साझा उम्मेदवार छन् । त्यस्तै तुलसीपुरमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी मेयरमा र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उपमेयरका उम्मेदवार छन् । ‘डायमण्डले मलाई चुनाव जिताउनु भएको हो र उहाँले कसरी मलाई जिताउनु भएको मलाई थाहा छैन,’ महराले भने, ‘अब डायमण्ड र डाँगीजी बसेर संयुक्त कार्ययोजना बनाएर जानुस् जित सुनिश्चित छ ।’महराले प्रतिगमनलाई परास्त गर्न, संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारले जित्न अति आवश्यक रहेको बताए ।