काडमाडौँ — म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो । यसअघि उनलाई गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो । त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड १९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
२०२१को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ । सुकीविरूद्ध सेनाले १७ वटा आपराधिक मुद्दा दायर गरेको छ । अदालतबाट ती सबैमा मुद्दामा दोषी ठहरिन भने सुकीले १६३ वर्षको कैद सजाय पाउन सक्छिन् । सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी एनएलडीले बहुमत ल्याएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो । आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो । सेनाले कू गरेपछि नागरिले सैनिक शासनको प्रतिरोध गरिरहेका छन् । प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय मानिस मारिएका छन् ।


प्रतिक्रिया