Breaking

भरतपुरमा कांग्रेस कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न देउवाले गृहमन्त्री खाँणलाई खटाए


काठमाडौँ — स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका छन् । प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाँण बुधबार दिउँसो नै भरतपुर जाँदैछन् । भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् । असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारीसमेत दिइसकेका छन् ।

काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले प्रधानमन्त्री देउवाको निर्देशनपछि चितवनमा गठबन्धन बलियो बनाउने गरी भूमिका खेल्न आफु त्यसतर्फ जान लागेको बताए । ‘म भैरहवा जाने कार्यक्रम थियो । तर, सभापतिज्यूले ‘तिमी चितवन जाऊ, र पार्टीका साथीहरूसँग छलफल गरेर गठबन्धनलाई अघि बढाउने काम गर्नू’ भन्ने निर्देशन गर्नुभयो, म साढे दुई बजेको फ्लाइटबाट चितवन जाँदैछु,’ कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भनेका थिए । गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।