Breaking

श्रममन्त्री श्रेष्ठ आज मलेसिया जाने


काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मलेसिया जाँदै छन् । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी बुधवार चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन् ।

मन्त्री श्रेष्ठको साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल पनि जाने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् ।

मन्त्रालयका सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

भ्रमणमा मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनको विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।