Breaking

कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पोको छ: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पोको भएको बताउनुभएको छ । सानेपाको मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले २०६२—०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले कांग्रेसको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले भने ‘नेपाली कांग्रेसले घोषणापत्रमा भित्र गाली पुराण छ । एमालेलाई गाली, धारे हात लगाएर सरापेको छ । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे, हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे भनेर घोषणापत्रमा लेखेको छ ।

के भएको हो नेपाली कांग्रेसलाई एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो, पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन एक पटक घोषणा गर्नभन्दा अघि सोध्न मन लागेको छ । घोषणापत्रमा संविधानका राम्रा कुराहरू निकालेर राखेको छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरूले आफू बित्दा कांग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले कांग्रेससँग ।’