देश

मेयर लड्न राजीनामा दिएका भुसालले पाएनन् टिकट


काठमाडौँ — मेयर लड्न राजीनामा दिएका बिष्णुप्रसाद भुसालले टिकट पाएको छैन । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो । ‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने । उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए । देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।