Breaking

गभर्नर निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै


काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा मंगलबार अन्तरिम आदेशबारे छलफल हुने भएको छ । अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ ।

सरकारले गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो । तर सर्वोच्च अदालतले वैशाख ७ गते अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो । अल्पकालीन आदेशसँगै अधिकारी भोलिपल्टै कार्यालयमा हाजिर भएका हुन् ।

तर त्यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आजको छलफलपछि सर्वोच्चले आदेश जारी गर्नेछ । अन्तरिम आदेशलाई निरन्तरता नदिएमा भने अधिकारी निलम्बनमा पर्नेछन् । तर यसअघि नै उनलाई काममा फर्किन आदेश दिइसकेकाले यो सम्भावना कम छ ।

गभर्नर निलम्बनपछि सरकारले पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई पनि तत्काल काम नगर्न सर्वोच्चले भनेको छ । सरकारले प्रक्रिया नपुर्याई आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।