Breaking

दाङको नगरपालिकामा एमाले काँग्रेस माओवादीबीच भिडन्त


काठमाडौँ — दाङको लमही नगरपालिकामा नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। काँग्रेसबाट मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी उम्मेदवार उठ्ने भएका छन् । यस्तै नेकपा एमालेबाट मेयरमा दण्डिराम चौधरी र उपमेयरमा शुशीला शर्मा उम्मेदवार उठ्ने भएका छन् भने माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डे उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनबाट सहमती हुन नसकेपछि काँग्रेस र माआवादीले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका हुन् ।

काँग्रेसका चौधरी यसअघि मेयरमा पराजित उम्मेदवार हुन् भने माओवादीका शर्मा पार्टीका लमही नगर इन्चार्ज हुन् । माओवादीले एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न छलफल गरिरहेको छ। यद्यपि तीन दलबीच चुनावी तालमेल गर्ने विषयमा सहमती भइसकेको छैन । एमालेबाट उठेका दण्डिराम लमही खानेपानीका अध्यक्ष समेत हुन्। यसअघि लमही मेयरमा एमाले र उपमेयरमा काँग्रेसले जितेको थियो ।

यस्तै दाङकै राजपुर गाउँपालिकामा पनि त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्ता गठबन्धनभित्र सहमती हुन नसकेपछि आ–आफ्नै उम्मेदवार उठाउन लागेका हुन् । काँग्रेसबाट अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव उठ्ने भएका छन् । माओवादीबाट अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले उम्मेदवारी दिने भएका छन् । यस्तै एमालेबाट अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादवलाई उठाइने भएको छ ।