Breaking

भागबण्डा नमिल्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा देखिएनन् प्रमुख राजनीतिक दलहरु, स्वतन्त्र र साना दलको मात्र उम्मेदवारी


काठमाडौँ — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजबाट उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । देशभरका निर्वाचन कार्यालयहरुमा उम्मेद्वारी दिनेहरुको भिड देखिए पनि ठूला राजनीतिक दलहरुले भने भागवण्डाको जटिलताको कारण भोलि मात्र उम्मेद्वारी दर्ता गर्ने तयारीमा छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवार मनोनयन दर्ताका लागि दिएको दुई दिन मध्ये आइतबार पहिलो दिन राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौँ महानगरपालिकाको मेयरसहित अन्य पदमा स्वतन्त्रतर्फबाट र विवेकशील पार्टीसहित अन्य केही सानादलेहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र र सानादलहरु उम्मेदवारी दर्ता गराइरहदा ठूला राजनीतिक दलहरुका कुनै पनि नेता सभागृहमा भेटिएनन् । तर पनि केही चर्चित अनुहारको उपस्थितिका कारण सभागृहको माहोल गर्माएको थियो । उम्मेदवारी दर्ता हुनुपूर्व नै मेयरका आकांक्षीको रुपमा चर्चा बटुलेका बालेन्द्र शाह (बालेन) पनि आफ्नो उम्मेदवारी दर्ता गराउन सभागृह पुगेका थिए । स्वतन्त्रबाट काठमाडौँ महानगरका लागि उम्मेदवारी दर्ता गराएका बालेनले आफ्नो उम्मेदवारी काठमाडौवासीका समस्या समाधान गर्नका लागि भएको बताए । साथै, उनले कांग्रेस र एमालेको भोट काटेर आफूले जित्ने निश्चित भएको दावीसमेत गरे ।

त्यस्तै, गएको निर्वाचनमा राम्रो प्रभाव बनाएको विवेकशील साझा पार्टी पनि काठमाडौं महानगरमा उम्मेदवारी दर्ता गरेको छ । तुलनात्मक रुपमा पहिलेको जस्तो शक्ति नभए पनि पार्टीको एजेण्डा भने उही पुरानै नै छ । पुरानै पार्टीहरुको नेताहरुलाई मत दिएर थाकिसकेको महानगरवासीले वैकल्पिक राजनीतिक पार्टी रोज्नेमा आफू ढुक्क रहेको विवेकशील साझाको धारणा छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी पर्दा वडाध्यक्षमा १२ र वडासदस्य ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख राजनीतिक दलहरुको भागबण्डा नटुंगिदा भोलि मात्र उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेद्वार मनोनयन भोलिसम्म गर्नुपर्ने भएकोले आज राति सम्म जसरी पनि भागबण्डा मिलाउनु पर्ने बाध्यता प्रमुख राजनीतिक दलहरुलाई छ ।