देश

टिकटका लागि कुटाकुट गरेका निवर्तमान मेयर गए लोसपामा


काठमाडौँ — धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निर्वतमान मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी जसपाबाट फेरि मेयरमा टिकट नपाएपछि उनी लोसपा प्रवेश गरेका हुन् । लोसपाका प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र जिल्ला अध्यक्ष परमेश्वर साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन् ।

लोसपाले उनलाई मेयर टिकट दिने निर्णय गरेको जिल्ला अध्यक्ष परमेश्वरले जानकारी दिए । जसपाबाट टिकट नदिँदा यादवका समर्थकले आज बिहान टिकट वितरण भइरहेको स्थानमा होहल्ला र तोडफोड गर्न थालेपछि विवाद भएको थियो । विवादको क्रममा जसपा नेता कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो । लोसपाले धनुषाका अधिकांश स्थानीय तहका उम्मेदवारसमेत टुंगो लगाइसकेको अध्यक्ष परमेश्वरले बताए ।