Breaking

मध्यरातमा देउवा–शेखर चर्काचर्की, टिकट भागबण्डामा काँग्रेसलेपौठेजारी खेल्दै, माधव आक्रोशित बने


काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले पर्याप्त भाग पाएपनि पार्टीभित्रकै शक्ति संघर्ष चुनौती बनेको छ । स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको टिकट वितरणमा नेताहरु रस्साकस्सीमा उत्रिएपछि विवाद चुलिएको हो । गठबन्धनका अन्य दलले समेत भागबण्डामा असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार मध्यरातसम्म नेपाली काँग्रेसका नेताहरु रस्साकस्सीमा थिए । यसपटकको रस्साकस्सी मुलतः विराटनगर केन्द्रीत थियो, र मुख्य पात्रका रुपमा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चर्काचर्की परेको हो । जुन शनिबारसमेत टकरावको विषय बनेको छ, टुंगिएको छैन ।

विराटनगर महानगरपालिकाको मेयरमा शेखरको रोजाईमाजिल्ला उपसभापतिसमेत रहेका नागेश कोइराला परिरहेका छन् ।देउवा नागेशलाई पन्छ्याएर अमृत अर्याललाई ल्याउन चाहन्छन् । आफ्नै प्रभाव क्षेत्रमा देउवाले हस्तक्षेप नछाडेपछि आक्रोशित बनेका शेखर शुक्रबार बालुवाटारमै देउवासँग पौठेजोरी खेल्न तम्सीएका हुन् । विवाद यी दुईका विषयमा मात्रै होइन,नेता कृष्णप्रसाद सिटौलासमेत तेस्रो पक्ष बनेर उभिएका छन् । उनीहालकै मेयर भीम पराजुलीलाई दोहो¥याउन खोजिरहेका छन् । देउवा पक्षभित्रकै अर्काे समूहले भने प्रतिनिधिसभा सांसदसमेत रहेकी डिला संग्रौलालाई मेयर बनाउन खोजिरहेका छन् ।

विराटनगरकै विषय काँग्रेसलाई गलपासो बनेपछि अन्य स्थानमा गठबन्धनसहितको तालमेल मिलाउन झनै कठिन परेको छ । महानगर भागबण्डाको विषयमा काँग्रेसभित्र त्रिपक्षिय शक्ति टकराव चर्किएका बेला अन्य महानगरमा उम्मेद्वार छनोटको विषयसमेत टुंगिएको छैन ।ललितपुर महानगरपालिकामा संस्थापन पक्षकै नेताहरुबीच मतभेद देखिएको छ । केन्द्रीय सदस्यद्वय मदन अमात्य र उदय शमशेरले फरक–फरक व्यक्तिको नाम अघि सार्दा उम्मेद्वार छनोटको विषय जटिल बन्दै गएको हो ।हालका मेयर चिरिबाबु महर्जन कि अर्का नेता प्रेमकृष्ण महर्जनलाई उम्मेद्वार बनाउने विवाद भएको छ । काँग्रेसको भागमा परेको काठमाडौंमा गठबन्धनबाट सिर्जना सिंहको नाममा बल्लतल्ल सहमति जुटेको छ ।

आइतबार मनोनयनको समय छ, शनिबारसम्म उम्मेद्वारका टुंगो नै लागेको छैन । काँग्रेस जस्तै अन्य महानगरमा भाग पाएका दलहरुसमेत उस्तै दलदल बाबजुद उम्मेद्वार टुंग्याउने दबाबमा परेका छन् । चितवनमा प्रचण्डपुत्र रेनु दाहाल सर्वसम्मत जस्तै देखिँदा वीरगञ्जमा जसपा अलमलमै छ । पोखरा महानगरमा एकीकृत समाजवादीले धनराज आचार्यलाई अघि सारेको छ । तर जिल्ला तहको बाँडफाँड चित्तबुझ्दो नभएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि जाहेर गरेका छन् ।महानगरकै विषय गलपासो बन्दा उपमहानगर लगायतका तल्लो तहमा गठबन्धनबीच चुनाव तालमेलको प्रस्ट खाका तयार भएको छैन ।

उपमहानगरको बाँडफाँडमा गठबन्धन सफल भएपनि उम्मेद्वार छनोटका विषयमा दलभित्रै अन्तरसंघर्ष चर्किएको छ ।गठबन्धनका दल र आफ्नै पार्टीको शक्ति टकराव मिलाउनुपर्ने दबाबमा परेको काँग्रेस भने झनझन चिरा पर्न थालेको छ । उम्मेद्वारी दर्ताका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ को समय दिएको छ । तर कुनै पनि प्रमुख दलले आइतबार उम्मेद्वारी दर्ताको छाँट देखाएका छैनन् । पाँच दलीय गठबन्धनविरुद्ध निर्वाचनको नीति बनाइरहेको एमाले भने गठबन्धनका उम्मेद्वार हेरेरमात्रै मनोनयनको तयारीमा छ ।