Breaking

काँग्रेस कार्यसम्पादन समिति बैठक फेरि सर्‍यो


काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको बुझिएको छ । सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सहमति हुन नसकेपछि अहिले छलफल चलिरहेको छ ।