Breaking

कांग्रेसको बैठक बस्दै, महानगरमा उठ्ने उम्मेदवारको टुंगो लगाउँने


काठमाडौँ — सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्न आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

गठबन्धनका पाँच दलबीच भएको सहमतिअनुसार देशका जम्मा ६ महानगरमध्ये नेपाली कांग्रेसको भागमा काठमाडैँ, ललितपुर र विराटनगर परेका छन् भने नेकपा माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टी (जसपा) लाई वीरगन्ज दिइएको छ ।

आफ्ना भागमा परेका महानगरमा कसलाई टिकट दिने भन्ने विषयमा निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय (सानेपा, ललितपुर) मा बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि सूचना गरिएको छ ।

आजको बैठकले महानगरमा उठ्ने उम्मेदवारको टुंगो लगाउँदै टिकटसमेत वितरण गर्ने सम्भावना छ । हिजो शुक्रबारका दिउँसो नै बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरिएको थियो।