काठमाडौँ – एसियाली खेलकुद र सागमा पदक दिलाईसकेको बक्सिङ, हाल नेपालमा गुमनाम जस्तै बनेको छ । पदकले खेलाडीहरुमा हौसला बढे पनि नियमित प्रतियोगिता खेल्न नपाउँदा बक्सिङको माहोल सुस्ताए छ ।
यो दृश्य राजधानीस्थित पर्यटकीय स्थल बसन्तपुर डबलीमा मंगलबारदेखि सुरु भएको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको हो । मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिता शुक्रबार सेमीफाइनलको समीकरण पूरा गरी फाइलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुँदैछ ।
पर्यटकीय क्षेत्रमा पर्यटकहरु सामू भईरहेको प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेश गरी १० टिमका एक सय दुई राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाइरहेका छन् । जसमा पुरुष ६५ र महिला ३७ खेलाडी रहेका छन् । नेपालमा बिरलै हुने यस्ता बक्सिङ प्रतियोगितले खेलाडीहरुमा उत्साह भर्नुका साथै र खेलाडी उत्पादनमा पनि योगदान दिने गरेको आयोजकको दावी छ ।
देशभरबाट छनौट भएर उक्त प्रतियोगितमा सहभागिता जनाईरहेका खेलाडीहरु पनि निकै हर्षित देखिन्छन् । यस्ता खाले प्रतियोगिताले आफ्नो खेल जिवनमा थप मेहनत गर्न प्रेरित गर्ने र छनौटमा पनि सहयोग गर्ने खेलाडीहरु बताउँछन् ।
कुनै समय बक्सिङ नेपालको सफल खेल मध्येमा गनिन्थ्यो । सागमा र एसियाली खेलकुदमा समेत पदक दिलाईसकेको बक्सिङ अहिले नेपालमा पनि खेलिन्छ र ? भन्ने अवस्थामा पुगेको छ । नेपाल बक्सिङ संघले जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य पूरा नगर्दा बक्सिङको यस्तो दयनीय अवस्था बन्न पुगेका छ । एसियन गेम्समा ६ पदक र १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मात्रै तीन स्वर्ण जितिसकेको बक्सिङ, संघका कारण नीजि जनमानसमा लैजान सकिरहेको छैन । नेपालमा हरेक क्षेत्रमा विवाद भए झै बक्सिङ पनि विवादबाट अछुतो छैन ।
नेपालकै सर्वाधिक धन राशीको बक्सिङ प्रतियोगितामा आमन्त्रित गर्दासम्म संघका अध्यक्ष उपस्थित भएनन् । यसले पनि स्प्रष्ट पार्छ कि संघमा विवादको चंगुल नै छ । संघमा रहेकै सदस्यहरु संघ नेतृत्वबाट असन्तुष्ट छन् । महासचिव, कोषाध्यक्ष र सदस्यहरूको जानकारीबिनै दूरगामी असर पर्ने निर्णयहरू भइरहेको संघका सदस्य नै बताउँछन् । जसले बक्सिङको विकासमा प्रत्यक्ष असर परेको छ । बक्सिङमा परिवारवाद हावी हुँदा नेपाली बक्सिङको आज दयनीय अवस्था बन्न पुगेको सदस्य नै स्वीकार्छन् ।
संघको पदमा पनि बसिरहन पर्ने तर, काममा भने सिंको नभाच्ने प्रवृत्तिले नेपालको हरेक खेलकुद क्षेत्र गिजलिएको छ । संघले गर्नु पर्ने यस्ता प्रतियोगिताहरु कुनै फाउन्डेशनको भरमा बाचिरहनु परेको छ । सबैले आफ्नो स्वार्थ त्यागी खेलकुदकै विकासमा लाग्ने हो भने नेपाली खेलकुदले पनि हरेक मञ्चमा आफ्नो दावेदारी पेश गर्ने छ ।
प्रतिक्रिया