राजनीति

उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि उम्मेद्वारको मनोनय दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ भने ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यी सबै कार्यालयमा निर्वाचन अधिकृत पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतले कार्यालय व्यवस्थापन गर्दै सम्बन्धित क्षेत्रमा काम सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच आयोगले निर्वाचनमा लागि चाहिने ५८ प्रकारका निर्वाचन सामग्री तयार गरेको छ ।

ती सामग्रीहरु आयोगले केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयहरूमा पठाउन थालको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए । उनले भने, ‘आयोगले निर्वाचनका लागि चाहिने सबै सामग्री तयार पारेको छ । ती सामग्रीलाई पोका पोका बनाएर बिभिन्न जिल्लाहरुमा पठाउने काम भइरहेको छ । निर्वाचनको मितिभन्दा अगाडि नै सबै निर्वाचन अधिकृतको कार्यालयमा ती सामग्री पु–याइसक्नेछौँ ।’