Breaking

खहरे खोला मासेर प्लानिङ गर्दा बस्ती नै डुबानमा पर्ने जोखिम, स्थानीयहरुको आपत्ति


काठमाडौँ – भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोप्रति स्थानीयहरुले आपत्ति जनाएका छन् । चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको र यसले बस्ती नै डुबानमा पर्ने भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराएर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरी विकास गर्न ताकेता गरी रहदाँ चाँगुनारायण नगरपालिका वडा नं ५ मा भने खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको छ । हाल खोला रहेको स्थानमा ३÷४ वटा डोजर लगाएर खन्ने र हिम पाइप राखि खोलामाथि सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

खोला नै गायव हुने गरी प्लानिङको लागि बाटो निर्माण गर्न स्थानीय सरकारले नै बजेट विनियोजन गरेकोप्रति स्थानीयहरु आक्रोशित बनेका छन् । स्थानीय सरकारले चालु आर्थिक वर्षको वार्षिक बजेटमा वडाको पूर्वाधारतर्फ पहिलो प्राथमिकता राखेर रकम छुट्याएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं ५ का सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ छुट्याएको बताए । स्थानीको आक्रोशकाबीच चाँगुनारायण नगरपालिकाले भने तयार पारेको डिजाइनका आधारमा खोलामा हिम पाइप राख्ने काम शुरु गरिएको समेत दाबी गरेको छ ।

स्थानीयवासीहरु भने जग्गा व्यापारीहरुले प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले बस्ती नै डुवानको चपेटामा परेको गुनासो गर्छन् । स्थानियहरुसँग छलफल नै नगरि जग्गाको साँध सीमाना नछुट्याइ जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न शुरु गरिएको स्थानीयहरुको आरोप छ ।

कृषि सिंचाइका लागि प्रयोग हुँदै अएको उक्त खोला यसअघि १० फिटको रहेकोले सो क्षेत्रफलमा खोला कायम राख्न माग गरेका छन् । सो स्थानमा रुख बिरुवा समेत मासिएको स्थानीयवासी बताउँछन् । खोला सीमाको दक्षिण र पूर्र्वी भागमा करिव ४० घरपरिवारको चाँकतू बस्ती छ । पछिल्लो समय भक्तपुरमा अवैध रुपमा प्लानिङ गर्ने कार्य धमाधम भइरहेको छ ।

प्लानिङका लागि सिधै अनुमति दिन नमिल्ने भएपछि घडेरी खार्ने बहानामा जग्गा व्यापारीहरुले जनप्रतिनिधि र कर्मचारीसँग सेटिङ गरी काम गर्ने गरेका र पूर्वधार विकासको नाममा कागजमा उपभोक्ता समिति गठन गरी सार्वजनिक सम्पतीमा कब्जा जमाउँदै आएको स्थानीयहरुको आरोप छ ।

चाँगुनारायण नगरपालीका वडा नं ५ कैै ढिकुरे पाटीमा पनि करिव १४ आना सरकारी जग्गामा प्लानिङको सडक निर्माण भएको समेत स्थानीयहरुको आरोप छ । भक्तपुर जिल्ला आयुक्तको कार्यालयले भक्तपुरका चारवटा नगरपालिकाका ९२ स्थानमा अवैध प्लानिङ भइरहेको भन्दै गत माघ ६ गते सूचि सार्वजनिक गरेको थियो । जसमध्ये चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा अवैध प्लटिङ रहेको छ ।