Breaking

नवआगन्तुकलाई स्वागत गर्न लिङ्देनलाई भ्याईनभ्याई, जोगिएला चुनावमा अस्तित्व ?


काठमाडौँ – स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरु चुनावी दौडधूपमा छन । साना–ठूला सबै राजनीतिक दल जनताको घरदैलोमा पुग्न थालेका छन । वैकल्पिक शतिmको खोजीमा रहेका आम मतदातालाई वैकल्पिक भनिएकाहरुले विकल्प दिन सक्लान् त ?

पुरानो पार्टी राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला सर्वत्र चर्चामा छन् । महाधिवेशन मार्फत राप्रपाभित्र कमल थापाको युग अन्त्य गर्दै, कांग्रेसको सभामा शीर्ष नेतृत्वको चर्को आलोचन गरेर एकएक नेपाली राजनीतिमा छाएका लिङदेनको चुनावी चर्चा र चासो पनि उत्तिकै छ ।

प्रचण्ड, देउवा र ओलीमाथि लिङ्देनले गर्ने कडा प्रहारकै कारण उनको पछि लाग्नेको ताँती बढ्दो छ । लिङदेनलाई अहिले जनसभा, आमसभामा देखि नवप्रवेशी र नवआगन्तुकको स्वागत गर्न भ्याईनभ्याई छ । ओली, देउवा र प्रचण्डसँग भिड्ने ताकत लिङ्देनसँग मात्रै रहेको भन्दै पार्टी प्रवेश गर्ने क्रम अझै जारी छ ।

राप्रपाका एक्ला सांसद समेत रहेका लिङ्देनको राजा फर्काउने मिशन कायमै छ । अहिले राप्रपा प्रवेश गर्नेहरु राजतन्त्रको नेतृत्व गर्ने भन्दा पनि लिङदेन मोहका कारण प्रवेश गरेका अनुमान लगाउन सकिन्छ ।

आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै आफुलाई वैकल्पिक शतिmको रुपमा हुँकार गर्ने राप्रपा शीर्ष दलहरुसँग कति प्रतिस्पर्धि बन्न सक्ला ? चासोपूर्ण बनेको छ । अर्थात ओली, प्रचण्ड र देउवाको सामाना लिङदेन एक्लैले कसरी गर्ला ? एकाएक ओझ बटुलेका लिङदेन र चर्चापूर्ण बनेको राप्रपा नेपालले चुनावमा आफ्नो अस्तित्व जोगाउन सक्ला ?

के यो निर्वाचनमा नागरिकले राप्रपालाई वैकल्पिक शतिm मान्लान् । राप्रपाले आफूलाई वैकल्पिक शतिm प्रमाणित गर्न सफल होला ? दलको हैसियत निर्वाचनमा छर्लङग हुन्छ । राजा फर्काउने लिङदेनको लक्ष्यलाई जनताले साथ देलान् ? त्यो निर्वाचनको परिणाम आएपछि थाहा हुने नै छ । प्रतिनिधि सभाको चुनाव भए समानुपातिक प्रणालीबाट पनि केहि प्रतिनिधित्व हुने बाटो रहन्छ ।

तर स्थानीय तहको निर्वाचनमा नागरिकको मत नै सर्वोपरि हो । राप्रपाप्रति नागरिकको आकार्षण निर्वाचनमा कति चरितार्थ हुन्छ त्यो हेर्न बाँकी नै छ । यद्यपि पार्टीको आकर्षण कायम राख्न र दिगो बनाउन भने लिङदेनका लागि चुनौतीपूर्ण पक्कै छ ।