समाचार

महिला बेचबिखनमा संलग्न ३२ वर्षपछि पक्राउ


काठमाडौँ — वीरगञ्ज महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । तर उनी घटनापछि फरार थिए ।

पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।