Breaking

गठबन्धन एकैपटक मैदानमा, गठबन्धनका उम्मेद्वारको अनुहार छाम्दै ओली


काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेलको ताल मिलाउनसत्ता गठबन्धनले बल्लतल्ल सहमति जुटाएको छ । गठबन्धनको सहमतिसँगै दबाबमा परेको एमाले तीब्र दौडधुपमा केन्द्रीत बनेको छ । गठबन्धनले समेत साझा आमसभा गर्ने तयारी गरेको छ । चुनावी तालमेलको ताल मिलाउन झण्डाझण्डै विभाजनको डिलमा पुगेको सत्ता गठबन्धन बुधबारबाट एउटा सहमतिमा आएको छ । त्यो सहमतिअनुसार महानगर र उपमहानगरको भागबण्डा मिलेपछि दलहरुले अब सिंगै चुनावमा जाने विश्वास त बनाएका छन् ।

तर गठबन्धनभित्रै एकअर्कामा रहेको अविश्वासले ढुकचुक कायमै छ ।यसका बाबजुद पनि अब पाँच दल पाँच दिनमा सात प्रदेशलाई सम्बोधन गर्ने तयारी छन् ।सत्ता गठबन्धनको साझा सहमतिमा कार्यतालिका नै बनाएर बैशाख १८ मा धनगढीबाट सुरु भइ बैशाख २२ मा काठमाडौंमा सक्नेगरि आम सभा आयोजना गरिएको छ । जसलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शिर्ष नेता र पाँच दलीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।मुलतः उसैगरि तयारीमा रहेको नेकपा एमाले र सत्तागठबन्धनको चुनावी ब्याटलको तीब्र दौड अब सुरु भएको छ । गठबन्धनले बुधबार भागबण्डाको विषयलाई टुङग्याएको थियो ।

त्यसको एकदिनपछि महानगर र उपमहानगरबारे निर्णायक छलफल गरेको एमालेले बैशाख १० मा मात्रै उम्मेद्वारको टुंगो लगाउने भएको छ । यसको मतलब गठबन्धनले उठाएका उम्मेद्वारको अनुहार हेरेर मात्रै आफ्ना उम्मेद्वारको टुंगो लगाउनेएमालेको नीति छ । बैशाख ११ र १२ मा दलहरुले उम्मेद्वार मनोनयन गरिसक्नुपर्नेछ । तर न सत्ता गठबन्धन न एमाले, कसैले उम्मेद्वारको टुंगो लगाएका छैनन् । गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ । यसको मतलब तल्लो तहमा समेत चुनावी तालमेलको दबाब केन्द्रबाटै दिइएको छ । एमालेले गठबन्धनका नीतिहरुलाई हेर्ने र सम्भावित जोखिमलाई आँकलन गर्दै उम्मेद्वार छनोट गर्ने तयारी गरेको छ ।