विदेश

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारतमा


काठमाडौँ — बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो । उनी बिहीबार बिहान गुजरात आएको र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ ।

गुजरातबाट प्राप्त समाचारमा बेलायतका प्रधानमन्त्री जोन्सनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेट गर्ने कार्यक्रम छ । गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो । गुजरातमा उनले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतबीच लगानीका विषयमा कुराकानी गर्ने बताइएको छ ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो । साथै यस भ्रमणका क्रममा उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोन्सन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए ।एजेन्सी