Breaking

खुल्यो पोखरा कांग्रेस कार्यालयमा लागेको ताला


काठमाडौँ — कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ ।

जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै महानगर समिति आन्दोलित बनेको थियो । बुधबार बिहान लगाइएको ताला महानगर र जिल्ला समितिको बैठकपछि बिहीबार बिहान खोलिएको हो ।

महानगर सचिव टुवराज बाँस्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नगर समितिसँग समन्वय नगर्नाले आत्मसम्मानमा चोट पुगेको भन्दै ताला लगाएका थिए । त्यसपछि बुधबार महानगर समितिको बैठक वडा सभापतिसमेतको सहभागितामा बसेको थियो । त्यो बैठकले पोखरा महानगरपालिकामा कांग्रेसबाट मेयरका १८ जना र उपमेयरका १० जना दाबेदारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ ।

पोखराको मेयर एकीकृत समाजवादीले पाउने सहमति केन्द्रीय गठबन्धनमा भइसके पनि रुष्ट नगर समितिले नाम सिफारिस गरेको हो । गठबन्धनमा उपमेयर भने कांग्रेसले नै पाउने सहमति छ ।