Breaking

अक्सिजन प्लान्ट विस्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विस्फोटमा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते र ६ जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।