Breaking

भागबन्डाको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् ।

उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।

‘निर्वाचनमा एउटै पार्टीभित्र पनि एउटाले टिकट पाउँदा केही न केही असन्तुष्टि देखापर्छन् त्यसमाथि गठबन्धनभित्र असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो, धेरै ठूलो कुरा होइन,’ उनले भने, ‘यसले निर्वाचनको परिणाममा केही फरक पार्दैन ।’ केन्द्रले राष्ट्रिय एकता, संविधानाको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बुद्धिमतापूर्वक निर्णय गरेको कुरा एक(दुई दिनमा बुझेपछि सबै शान्त हुने उनले विश्वास व्यक्त गरे ।

सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।