Breaking

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली


काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा युवा संघ नेपालले आयोजना गरेको ‘युवासँग मु कार्यक्रममा उनले भने, ‘अहिलेसम्म विकास नहुनुको कारण विकासप्रति सोच र चिन्तन नभएर हो। विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।’

उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए । युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न पनि उनले आह्वान गरे । ‘नेपाल विकसित नहुने कुनै कारण छैन। ब्रेन-पावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी छन्,’ उनले भने ।

उनले विद्युत प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहेको पनि बताए । अब देशको तीव्र विकास संख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो । शिक्षा प्रणालीमा केही समस्या रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने पनि उनले बताए ।

बुधबार आयोजितजस्तै ‘युवासँग मु कार्यक्रम हरेक वर्ष वैशाख ७ गते निरन्तरता दिन अध्यक्ष ओलीले सुझाव दिए । कार्यक्रममा विभिन्न संघसंगठनमा रहेका युवा उद्यमी, कलाकार, पेसाकर्मीले अध्यक्ष ओलीलाई विकास निर्माण र एमालेको प्रतिबद्धतासँग सम्बन्धित प्रश्न गरेका थिए ।