समाचार

आफैंलाई गोली हानेकी कपिलवस्तुकी सैनिकको निधन


काठमाडौँ — आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो ।

उनका अनुसार उपचारका लागि राति नै काठमाडौँ लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो । कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन् ।

ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको डीएसपी शाहले जानकारी दिए । बुधबार साँझ ७ बजेतिर घटना भएको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ ।

के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।