काठमाडौँ — राजधानीको बसन्तपुरमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । बुधबार भएको उक्त प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब अगाडी देखिएको छ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तर्फ आर्मीकी चन्द्रकला थापा अन्तिम चारमा प्रवेश गर्दा पुरुष ५७ केजी तर्फ पनि आर्मीकै इन्द्र सुनारले सेमीफाइनल यात्रा तय गरेका छन् । चन्द्रकलाले स्वस्तिका तिरुवा पराजित गरेकी थिईन् भने सुनारले कर्णालीका पारस शाहीलाई निराश पारेका थिए । त्यस्तै ५७ केजी तर्फ नै एपिएफकी नाङ्जा बुढामगरले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गर्दै अन्तिम चारको प्रवेश गरेकी छिन् ।
पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपीएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपीएफका साजन तामाङलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । महिला ५१ केजीमा एपिएफकी सन्जुमाया थिङ र नेपाल पुलिसकी दिवाना शेर्मा सेमिफाइनलमा प्रवेश गरे । थिङले कर्णाली प्रदेशकी आरती विक तथा शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउदै सेमिफाइनलमा पुगे । महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।यस्तै पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । त्यसै स्पर्धामा एपीएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुगे ।
पुरुष ६९ केजीमा प्रहरीका सुनिल शाहीले एपीएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । भूपेन्द्र र सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए ।पुरुष ९१ केजीमा एपीएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे । सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे ।
प्रतिक्रिया