काठमाडौँ — अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । पीडित किशोरीले तनहुँ जिल्ला अदालतमा जस्तै आफूमाथि जबरजस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।
गत आइतबार मात्रै पनि उनले जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बताएकी थिइन् । त्यहाँ उनले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।
नवलपुर जिल्ला अदालत स्रोतका अनुसार सरकारी वकिलहरुले २०–२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए, जहाँ पीडित किशोरीले अभिनेता पल शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी छन् । सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको भन्ने उनले बयान दिएकी हुन् । अब जिल्ला अदालतले अब बालिगका बुबा र अरु साक्षीहरुको बकपत्र गराउने बताइएको छ ।


प्रतिक्रिया