काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेका छन् । ललितपुरमा बुधबार आयोजित एमालेको युवासँग मु कार्यक्रममा ओलीले घिसिङको आलोचना गरेका हुन् । लोडसेडिङ अन्त्य भयो भनेर प्रचारप्रसार गरिएको तर वास्तवमा लोडसेडिङ अन्त्य नभएको ओलीको भनाइ थियो । माओवादी केन्द्रले चुनाव प्रचार सामग्रीमा घिसिङको तस्बिर राखिएको प्रसंगमा ओलीले आलोचना गरेका हुन् ।
गफ दिने बेलामा लोडसेडिङ समाप्त पार्ने, लोडसेडिङहन्ता, महान् यताउता भनेर प्रचार गर्ने एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो पनि बनाएको थियो, उनले भने, पछि त्यो कर्मचारीले लाज मानेर मेरो फोटो हटाउ भनेछन् । लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा तीनचोटि बत्ति जान्छ । भारतमा विद्युत् निर्यातमा नेपाललाई घाटा भएको पनि ओलीले बताए । उनले विद्युत् निर्यातमा प्रतियुनिट ३४ रुपैयाँ घाटा भइरहेको दाबी गरे । उनले भने, चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँमा युनिटमा किन्ने गरेको छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्दा ३४ रुपैयाँमा प्रतियुनिट घाटामा । यस्ता व्यक्तिको फोटो लिएर हिँड्ने दल पनि छन् गठबन्धनभित्र ।


प्रतिक्रिया