Breaking

जन्मदिनको पार्टी दिने कम्पनीलाई ४ लाख ५० हजार डलर जरिवाना


काठमाडौँ — अमेरिकाको एक अदालतले कर्मचारीको इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरेको भन्दै एक कम्पनीलाई ४ लाख ५० हजार डलरको जरिवाना सुनाएको छ ।

द गार्डियनका अनुसार अमेरिकाको ग्राभिटी डायग्नोस्टिक्स नामक मेडिकल ल्याबरेटोरिजले सन् २०१९ को अगष्टमा आफ्ना पूर्व कर्मचारी केभिन बर्लिनलाई उनको इच्छाविपरीत नै जन्मदिनको पार्टी आयोजना गरेको थियो ।

केभिनले पार्टीले आफूलाई मानसिक समस्या पर्ने भन्दै आयोजकलाई आफ्नो जन्मदिनको पार्टी आयोजना नगर्न आग्रह गरेका थिए । यद्यपि उनीहरुले केभिनको आग्रह बिर्सिएका थिए र पार्टी आयोजना गरिएको थियो । जसको कारण पार्टीमा सहभागी भएका केभिनलाई डराउने र आत्तिने समस्या देखिएको थियो । त्यसपछि केभिन आफ्नो कारमा गएर लामो श्वास फेरेर आएर खाना खाएर म्यानेजरलाई आफ्नो इच्छाविपरीत पार्टी आयोजना गरेको भन्दै निराशासहितको म्यासेज पठाएका थिए ।

यो घटना भएको भोलिपल्ट कार्यालयमा केभिनको व्यवहारको आलोचना भएको थियो । उनका म्यानेजरहरुले उनलाई पार्टीमा अन्य साथीहरुको उत्साह तथा खुसी भङ्ग गरेको अरोप लगाएका थिए। उनलाई पुनः अघिल्लो दिनको समस्या बल्झिएको थियो ।

त्यसपछि उनलाई दुईदिनको लागि आराम गर्न घर फर्काइए पनि तेस्रो दिन अघिल्लो साताको गरेको कार्यको लागि भन्दै उनलाई कामबाट निकालिएको इमेल पठाइएको थियो । अदालतले केभिनलाई उनले व्यहोर्नुपरेको तलब तथा अन्य सेवा सुविधाको नोक्सानीको लागि १ लाख २० हजार, भविष्यमा यसले पार्ने असरको लागि ३० हजार र यसले उनलाई दिएको मानसिक आघातको लागि ३ लाख गरी समग्रमा ४ लाख ५० हजार बुझाउन कम्पनीलाई आदेश दिएको छ ।

अदालतले जन्मदिनको पार्टी आयोजना गर्दा वा नगर्दा केभिनको काममा कुनै असर नपर्ने भए पनि कम्पनीले उनलाई स्वास्थ्यलाई ध्यानमा नराखेर गरिएको पार्टीले उनलाई असर परेको ठहर गरेको छ ।

यद्यपि कम्पनीकी प्रमुख सञ्चालक अधिकारीले भने केभिनले कम्पनीको हिंसात्मक गतिविधिसम्बन्धी नियम तोडेको आरोप लगाइन्।

कम्पनीको लागि सबैभन्दा पहिलो प्राथमिकता आफ्ना कर्मचारीको सुरक्षा हुने गरेको र केभिनको कारण त्यसको नकारात्मक असर अन्य कर्मचारीमा परेको उनको भनाइ थियो। उनले अदालतको यो निर्णयविरुद्ध पुनरवलोकनको लागि अपिल गर्ने बताएकी छन्।