समाचार

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र


काठमाडौँ — ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ ।

नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।

दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो ।

त्यसमा उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएको हो । उक्त चलचित्रको मूल्याङ्कन समितिका सदस्य सरिता लामिछानेले छायाङ्कन, आवाज, वत्ति, सन्देश, सिर्जना र निर्देशन पक्षलाई ख्याल गरेर पुरस्कारका लागि लघु चलचित्र छनोट गरेको जानकारी दिइन् ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा सबै विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । सो क्रममा फोटो प्रदर्शनीका साथै उत्कृष्ट लघु चलचित्र गरिमा, फातिमा, गौरव २, डोल्मा, सेता मलामी र सेनाको चेली पनि प्रदर्शन गरिएको थियो ।