समाचार

पल शाहलाई नवलपुर अदालत लगिँदै


काठमाडौँ — बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई बुधबार (आज) नवलपरासी पूर्व लगिने भएको छ । जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदै छ । यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो ।

जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ। साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको छ ।
यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो । मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् ।

त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ । यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए । पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो ।

बुबासँगै हुँदा पीडितले पलले बलात्कार नगरेको बयान दिइन् । मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो । अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बताएका छन् ।

यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताए । यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ । अदालतले आफैं गराएको बयानलाई विशेष प्रमाणका रुपमा लिन्छ । तर केही घटनामा पीडितले इन्कार गरे पनि अदालतले दोषी ठहर गरेका उदाहरण पनि छन् ।

यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ । हाल अध्यादेशमार्फत ल्याइएको फौजदारी संहिताअनुसार पीडितलाई हुने न्यूनतम सजायको आधा सजाय पीडितलाई हुन सक्ने व्यवस्था छ ।