Breaking

नेकपा एसको घोषणापत्र सार्वजनिक, निःशुल्क उपचारदेखि हरेक घरलाई २ सय युनिट बिजुली सित्तैमा


काठमाण्डौ — आज मङ्गलवार काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न । त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ुआफ्नो गाउँ आफैँ बनाऔँु लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

पार्टीले मदिरा सेवनले विकृति र अपराध बढेको भन्दै आफूले जितेको स्थानीय तहमा मदिरा सेवन कार्डको व्यवस्था गर्ने घोषणा गरेको छ । पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने बताएको हो । घोषणापत्रमा भनिएको छ, ‘जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ । मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ ।

यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ। पार्टीले आफ्नो घोषणापत्रमा नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने पनि बताएको छ । नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरूले रुचिपूर्वक सेवन गरेको बताउँदै पार्टीले नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनाबद्ध ढङ्गले अगाडि बढाउने आफ्नो घोषणापत्रमा जिकिर गरेको छ ।