Breaking

डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाले मागे सुरक्षा


काठमाडौँ — उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने भन्दै सुरक्षा माग गरेका छन्। डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा बसेको सर्वसाधारण र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेको हो। सयौँ युवा परिचालन गरेर मतदान स्थल कब्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका हुन्।

आफूहरुले कहिले पनि स्वतन्त्र रुपमा मतदान गर्न नपाएको भन्दै उनीहरुले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन्। उनीहरूले उपल्लो डोल्पामा लुटपाटलगायत अपराध हुँदै आए पनि राज्य मौन बसेको गुनासो गरेका छन्।

भेलामा सहभागी जनप्रतिनिधिले उपल्लो डोल्पाको तीन पालिकामा एकलौटी गर्दै आएको समूहले स्वतन्त्र रूपमा मतदान गर्न नदिन गुण्डा परिचालन गरेको बताएका छन्। २०७० सालमा धो तरापमा गोलबजारमा दुई जनाको हत्या भएको घटनाको परिवारले न्याय नपाएको उनीहरूको गुनासो छ। यस्तै पुराना मूर्ति चोरी भइरहँदा पनि प्रशासन मौन बसको उनीहरूको आरोप छ।

उपल्लो डोल्पामा चुनाव स्वतन्त्र नहुनुमा प्रतिनिधिसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता धनबहादुर बुढाको हात रहेको आरोप लाग्ने गरेको छ। बुढा डोल्पा आएलगत्तै उपल्लो डोल्पाका सर्वसाधारणले सुरक्षा माग गरेका हुन्।

प्रहरीले पनि अपरिचित मान्छेको ठूलो समूह डोल्पो बुद्धमा प्रवेश गरेको स्वीकार गरेको छ। यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रियामा गइसकेको बताए।