Breaking

रथले किचेर वृद्धको मृत्यु


काठमाडौँ — भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ ।

जात्राको अन्तिम दिन सोमबार रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धलाई रथले किचेको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल छन् । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
जात्रामा अप्रिय घटना भए पनि रथ तान्ने क्रम भने रोकिएको छैन । बिस्काः जात्राको अन्तिम दिन सोमबार गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा छ ।दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पुर्याएपछि जात्रा सम्पन्न हुन्छ ।