Breaking

पोखरा महानगरको विषयमा कुरा नमिल्दा गठबन्धनमा सहमति भएन


काठमाडौँ – पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।

पोखराकै विषयमा सहमति नजुटेपछि पुनः होमवर्क गरेर मंगलबार बस्नेगरी आजको बैठक सकिएको ती नेताको भनाइ छ । महानगरको विषय टुंगिए पनि उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटाउन प्रयास हुने गठबन्धनका नेताहरुले बताएका छन् ।