देश

महानगरको मेयर मागेका एकीकृत समाजवादीलाई वडा सदस्य पनि नदिने कांग्रेसको अडान


काठमाडौँ — पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने कांग्रेसले बताएको छ । पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो । कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताए । पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भने, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं ।


कांग्रेसले उक्त जानकारी गराएपछि बैठक उठेको छ । कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन् । जिल्लाभर ७२ वटा वडा छन् । एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए । समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ । समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए ।