Breaking

गठबन्धनको नगरपालिका र महानगरपालिका भागबन्डामा समस्या उत्पन्न


काठमाडौँ — सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबन्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ । स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा नमिलेपछि समस्या उत्पन्न भएको हो । केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी तालमेल गर्ने भने पनि त्यसलाई स्थानीय तहका नेता–कार्यकर्ताले अस्वीकार गरेको अवस्था छ । माओवादी केन्द्रले यसअघि जितेका सबै स्थानीय तहमा आफ्नो दाबी गरेको छ । कांग्रेसले पनि यसअघि जितेका र निकट भएर हारेका स्थानीय तहमा पनि दाबी गरेको छ । त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एस ले पनि यस्तैखाले दाबी गरेको छ । कांग्रेस र माओवादी दुवैले नेकपा एसलाई सहयोग गर्ने अवस्था भए पनि केही खास स्थानमा भने असहयोग हुने अवस्था रहेको छ ।

धेरै स्थानमा कांग्रेस र माओवादी दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । भरतपुर महानगरपालिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संसदीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भएका कारण पनि प्रतिष्ठाको विषय बनिरहेको छ । तर कांग्रेस भरतपुरका कार्यकर्ताले सधैं भोट अर्को पार्टीलाई हाल्दा आफ्नो अस्तित्व रक्षा नहुने भन्दै भरतपुरमा यसपटक स्वतन्त्र भए पनि उम्मेदवारी दिने धम्की दिइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावमा तालमेल राष्ट्रिय आवश्यकता भएको बताइरहेका छन् । धेरैजसो स्थानमा माओवादीकै नेता–कार्यकर्ताले तालमेल नगर्ने भनिरहेका छन् । केही स्थानमा कांग्रेस नेताहरूले छाड्न नसक्ने बताइरहेका छन् । दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुनेगरी केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । पूर्व र पश्चिमका धेरै जिल्लामा माओवादी नेताहरूले गठबन्धन नगर्ने रिपोर्टिङ गरेपछि कांग्रेसले पनि आफ्नो पकड क्षेत्रमा माओवादीलाई नछाड्ने भएको छ ।