Breaking

खुल्यो पार्टी प्रवेशको जागिर,प्रचण्ड–ओलीको कार्यकर्ता तानातान


काठमाडौँ –स्थानीय तहको निर्वाचनको मिति जति नजिकिदो छ, नेताहरुको देश दौडाहा उत्तिकै बढीरहेको छ । मुलतः पार्टीमा नव प्रवेशीलाई स्वागत गर्न शिर्ष नेताहरु नै तामझामसाथ दौडधुपमा छन् । नेता कार्यकर्ताले पनि सजिलै अवसरको खोजि गर्न निर्वाचनलाई जागिर जस्तो बनाएका छन् ।

२०७९ साललाई निर्वाचन वर्षका रुपमा हेरिरहँदा कसैले यसलाई जागिरे वर्षका रुपमा हेरेका छन् । अर्थात् रोजगार नपाएको युवा शक्ति खाडीमा पसिना बगाउन भाँसिएको छ, नेपालमै भएका ३० लाख बढी युवा बेरोजगार छन् । तिनलाई रोजगारी दिनुपर्ने राजनीतिक दलले निर्वाचनका नाममा पार्टी प्रवेशको जागिर दिएका छन् ।

करिब २ हजारलाई पार्टी प्रवेश गराउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत २८ गते बझाङको चैनपुर पुगे । ओलीको हेलिकप्टर चैनपुरमा अवतरण गरेपछि धुलाम्मे भएका नेता कार्यकर्ताले कार्पेट विछ्याएर स्वागतको फुल बर्षाए । गत निर्वाचनपछि प्रधानमन्त्री बनेका ओली साढे तीन बर्ष सत्तामा बस्दा बझाङलाई बिर्सिएपनि निर्वाचनको मुखमै पहिलोपटक सुदुरको विकट जिल्ला हानिएका थिए ।

आजभोली हरेक दिन ओली पार्टी प्रवेशको लहरमा झुमिरहेका छन् । चैत ६ बाट देशदौडाह सुरु गरेका ओलीले एक महिना नपुग्दै बैशाख २ सम्म २५ जिल्ला भ्याएका छन् । शुक्रबारमात्रै काँग्रेस नेता अर्जुननरसिंह केसी, प्रकाशशरण र रामशरण महतको जिल्ला नुवाकोट पुगेर पार्टी प्रवेशीलाई स्वागत गरेका ओलीले एमालेको किल्ला बनेको उद्घोष गरे ।

पार्टी फेरबदल र अदल बदल ओलीको मात्रै दैनिकी होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत पार्टीमा प्रवेशीको लहर चलेको देखाउन एक हातमा माला र अर्काे हातमा खादा लिएर देश दौडाहमा छन् ।

पछिल्लो एक महिनाको अवधिमा आधा महिना चितवनमै विताएका प्रचण्डले प्रवेशीलाई स्वागत गर्न गोरखाको बारपाकदेखि सिरहाको मिर्चैयासम्म हेलिकप्टर सवारी गरिरहेका छन् । माधवकुमार नेपाल उस्तै रमझम रहँदाप्रधानमन्त्री शेरबहादुर देउवा पनि सके कार्यक्रम स्थलमै नसके बालुवाटारमै बोलाएर नव प्रवेशीको स्वागत गर्न व्यस्त छन् ।

उनीहरुको भीडमा थपिएका छन्, पुरानो पार्टी राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन । राजनीतिक संस्कारमा आफुलाई खुबै परिष्कृत देखाएर कार्यकर्ता तान्न क्रियाशिल लिङ्देनको पार्टीमा समेत प्रवेशीको लहर चलेको छ ।

करिब सय जना कार्यकर्ता पार्टी प्रवेश स्थिति देखिए शिर्ष नेता नै हेलिकप्टर लिएर स्वागत गर्न पुग्छन् । यसरी प्रवेश गर्नेहरुमा अधिकांश बाहालवाला जनप्रतिनिधि छन्, पूर्वकर्मचारी पनि छन्, कलाकारदेखि व्यापारीसम्म छन् । र उनीहरुको पछि लागेर पार्टी प्रवेश गर्नेहरु एकैठाउँमा बस्दैनन्, घुमिरहन्छन् । उनीहरुका लागि पार्टी प्रवेश जागिर जस्तो बनेको छ ।

यसरी पार्टी प्रवेश गर्नेहरुले स्थानीय तहमा समन्वय गरेका छैनन्, सिधैं केन्द्रीय नेतृत्वसँग मुठ्ठी जुधाएर फेशन सो जस्तो प्रवेश चलाइरहेका छन् । यसलाई विश्लेषकहरु अवसरको खोजीका रुपमा बुझ्छन् । राजनीतिज्ञ राजनीतिकै नियन्त्रणबाहिर गएपछि शक्ति, पैसा र सजिलै अवसर पाउन नेतासँग सामिप्यता बढाउन मुलतः पार्टी प्रवेशको लहर चलिरहेको छ ।